Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

सत्तापक्ष विवादमा फस्दै, विपक्षी मोर्चा कस्दै


काठमाण्डौ

पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएर विवादमा फस्दै जाँदा विपक्षीहरुबीच भने मोर्चा कस्दै लैजाने सहमति भएको छ ।

पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमका विषयमा मङ्गलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नवगठित जनता समाजवादी पार्टीबीच छलफल भएको छ ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापति निधि, नेता कृष्णप्रसाद सिटौला र जसपाबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राईको सहभागिता थियो ।

छलफलबाट एक्कासी सभामुख र संसदमा रहेका राजनीतिक दलहरुको परामर्शविपरीत असार १८ गते बजेट संसद् अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा काँग्रेस र जसपा एक ठाउँमा उभिने निष्कर्ष निकालेका हुन् ।

कोरोना, सलह, बाढी, पहिरोबाट सिर्जित चुनौती सामना गर्न प्रस्तुत सङ्कल्प प्रस्ताव, एमसीसी, नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्तसम्बन्धी विधेयक र नेपाल विशेष सेवा विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिएको जस्ता विषयमा काँग्रेस जसपाबीच छलफल भएको थियो ।

तर सरकारको कदमको विरोध गरेको काँग्रेस र जसपाबीचको बैठकले आफूले चाल्ने कदमबारे भने निर्णय नलिएको र केही दिनमा अर्को बैठक बस्ने कांग्रेसका उपसभापति निधिको भनाइ छ ।

समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार छलफलमा पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो ।

सरकारका कारण सबै क्षेत्र डामाडोल हुने अवस्थामा पुगेको छलफलको निष्कर्ष रहेको उनले बताएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्