Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

सरिता गिरीको पक्षमा ट्वीट गरेकी मोहना अन्सारीको टिप्पणी माथि आयोगको आपत्ति


काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सरिता गिरीको कारवाहीप्रति टिप्पणी गरेकोमा आयोगले आपत्ति जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत समेत गराएको छ ।

सामाजिक सन्जाल ट्वीटरमा अन्सारीले गत असार २३ गते समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

आयोगका अध्यक्ष अनुपराज शर्माले विहिवार विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सन्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेकोमा आयोगले खेद प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।

आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीमाथि समाजवादी जनता दलले कारवाही गरेपछि उक्त निर्णयप्रति आपत्ति जनाउँदै खेदजनक भन्दै विरोध जनाएकी थिइन् । संसदमा बोलेको भरमा कारवाही गरिनु अलोकतान्त्रिक भएको भन्दै अन्सारीले गिरीको पक्षमा ट्वीट गरेकी थिइन् ।

अन्सारीलाई आयोगले डेढ वर्षअघिनै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरित राजनीतिक वक्तव्य दिने गरेको आरोप छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्