Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

भारतिय न्युज च्यानलहरु प्रसारणमा रोक लगाउने निर्णय


काठमाडौं ।

भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय भएको छ ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बिहीबार साँझबाट रोक्ने निर्णय गरेको छ ।

भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि वितरकहरु आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरका हुन् ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेपछि अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहान नै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल गर्ने बताएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको छ । पछिल्लो समय भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेका छन् ।

यता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय न्यूज च्यानलले नेपालबारे घृणा फैलाउने गरी आपत्ति जनाउने सामग्री प्रकाशित गरेको जानकारी रहेको भए पनि न्यूज च्यानलको प्रशारण नै रोक्नेबारे भने कुनै जानकारी नरहेको स्पष्ट पारेको छ ।

बिहीबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भारतीय सञ्चार माध्यममा आएका विषयवस्तु प्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदैे कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताएका थिए ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै खतिवडाले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने समेत बताएका छन् ।

प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ, नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ प्रकाश लगायतका संघ संस्था, नेता तथा व्यक्तिहरुले पनि यसबारे कडा आपत्ति जनाइसकेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्