दुश्मनको निम्ति उठेको गोर्खाली खुकुरी, दमन गर्ने शासक विरुद्ध उठ्न सक्ने चेतावनी

साझाहव संवाददाता
रुपन्देही
राष्ट्रिय जनमुक्ति पार्टीका नेताहरुले हिजो दुश्मनको निम्ति उठेको गोर्खाली खुकुरी अब दमन र विभेद गर्ने शासक विरुद्ध उठ्न सक्ने भन्दै चेतावनी दिएका छन् ।
सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारले निर्णय गरी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई निर्देशन दिई भूतपुर्व गोर्खा सैनिकहरुलाई बिभेद गर्ने र अनागरिक बनाउने निति एवं निर्णय गरेको भन्दै वुटवलमा गरिएको प्रदर्शनमा बोल्दै नेताहरुले उक्त कुरा बताएका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध राष्ट्रिय पूर्वसैनिक संगठन प्रदेश नम्बर ५ (लुथम) समितिको आयोजनामा बुटवल राजमार्ग चौराह देखी शुरु गरेको बिरोध र्याली मिलन चोक हुँदै मिडिया चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।
बिरोध सभालाई संबोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय तथा स्थानिय नेताहरुले आफ्नो पार्टीले भुपुलाई खम्बाको रुपमा स्थापित गरेको र पूर्व गोर्खाका परिवारलाई संबिधान सभा सदस्य पनि बनाई सकेको स्मरण गराएका थिए ।
त्यस्तै, नेपालको गौरवमय ईतिहास नेपालको काङ्ग्रेस कम्युनिष्टहरुले बनाएको नभई पुर्खाका बहादुरी, तागत र सौर्यताले बनाएकोमा उल्टो भुपुहरुलाई अनागरिकको दर्जामा राख्न खोजेकोमा खोर भर्सना गरेका थिए । साथै, गोर्खा भर्तिका कारण राज्य तथा राज्यका सञ्चालकहरुले प्रशस्त लाभ लिए पनि भुपूहरुले भोग्नु परेका समस्याहरुका बारेमा राज्य कहिल्यै गम्भिर नबनेकोमा उनीहरुले आक्रोश पोखेका थिए ।
बिरोध सभाका प्रमुख बक्ता राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद उपाध्यक्षले गोर्खा भूपू सैनिकले विदेशमा गरेको सेवा र कर्मवापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गर्दछ तर भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफूहरूलाई सैह्य नहुने र राष्ट्रको अर्थतन्त्र लगायतका विभिन्न क्षेत्रमा ठूलो योगदान गरेका पूर्व सैनिकहरुलाई सरकारले उचित सम्मान गर्नु पर्ने ठाउँमा उल्टै अनागरिक सरह व्यबहार गरेकोमा अब आफुहरुले सरकार बिरुद्ध अन्तिम सम्म लड्ने चेतावनी पनि दिएका छन ।
सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णय प्रति राष्ट्रिय पूर्वसैनिक संगठनले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति सहित सडकमा आउनु परेको बताएका छन् ।
विरोध सभामा कपिलवस्तु, नवलपरासी, पाल्पा र रुपन्देही देखि पुर्व सैनिकहरुको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्