Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपाले सचिवालय बैठकबाट आज पार्टी भित्रको विवाद समाधान प्रयास गर्दै


नेकपा विवाद

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज सचिवालय बैठक डाँकी पार्टी भित्रको उत्कर्षमा पुगेको विवाद समाधानको लागि प्रयास गर्न लागेको छ ।

पार्टीभित्र जारी विवाद समाधान नभएपछि छलफल सचिवालय तिर फर्किएको हो । सचिवालय बैठक शनिवार दिउँसो ३ बजे बस्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपालबीच बिहीबार सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवादलाई केन्द्रीय कमिटीमा लगेर छलफल गर्ने सहमति भएको थियो । तर चौबिस घन्टा नबित्दै सो सहमति उल्ट्याएर फेरि पार्टी सचिवालय बैठक बोलाउनेमा नेताहरू पुगेका हुन् ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् ।

विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

अहिले सम्मका बैठकमा कुनै सहमति हुन सकेको छैन भने एकअर्कोपक्षले एकअर्काका कारण छलफल सहमतिमा नपुगेको आरोप लगाइरहेका छन् ।

माधव नेपालको प्रवेश र खुमलटार बैठकले वातावरण भाँडिएको प्रधानमन्त्री निकट पक्षको आरोप छ भने ओलीको अडानले सहमति जुट्न नसकेको प्र्रचण्ड पक्षको आरोप छ ।

शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सचिवालय बैठकपछि आइतबार अपराह्न ४ बजे स्थायी कमिटी बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्