भारतमा नेपाली माथि दुर्व्यवहार गर्दै भिडियो बनाउने एक व्यक्ति पक्राउ

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर भारतमा नेपालीमाथि दुर्व्यवहार गर्ने १ जना व्यक्ति पक्राउ परेका छन् ।
बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए ।
साथै, उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन समेत लगाएका थिए । सोहि भिडियो सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।
विरोध सुरु भएपछि उक्त दुव्र्यवहार गर्न संलग्न मध्येको एक व्यक्ति सन्तोष पाण्डेलाई पक्राउ गरेको भारतको वाराणसी (बनारस) प्रहरीले जनाएको छ ।
विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेका हुन् ।
बनारस प्रहरीका अनुसार पाण्डेले नै सो भिडियो बनाएको र उनको मोबाइलमा पनि सो भिडियो रहेको बताएको छ । छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको र यो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने वनारस प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
भिडियो सार्वजनिक भएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग उक्त भिडियोको बारेमा टेलिफोन सम्वाद गरेका थिए । कुराकानीको क्रममा आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रधानमन्त्री ओलीले भानुभक्त जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि भारतमा नेपालीहरुमाथि दुर्व्यवहार सुरु भएको हो ।
क्याटेगोरी : अन्तरास्ट्रिय, अपराध, राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्