Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

पुर्व जनमुक्ति सेनाको प्रचण्डलाई मार्मिक पत्र


काठमाण्डौ  ।

एक पुर्व जनमुक्ति सेनाले न्युरो अस्पताल बाँसबारीबाट पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो लेख मार्फत लेखेको पत्र जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

अध्यक्ष कमरेड पुष्पकमल दाहाल क. प्रचण्ड अभिवादन !!

अध्यक्ष कमरेड हजुर आरामै हुनुहुन्छ भन्ने कामना लिएको छु । मलाई तपाईले खासमा चिन्नु हुन्न किनकी म जस्ता लाखौ कार्यकर्ता हजुरको छन् । मैले हजुरलाई के भनी परिचय दिउ त कसरी चिनाउ मनमा कौतुहलता जागेर आएको छ । हुन त म सानो मान्छे हो सानो मान्छेले ठूलो कुरा गर्यो भनि कृपया नभनिदिनु होला । हजुरलाई म परिचय सँगै केहि गुनासा राख्न गईरहेको छु । कृपया हजुरले कहिबाट यो लेख हजुर सम्म पुग्यो भने हजुरले २ मिनेट समय निकालेर हेरि दिनु होला । अध्यक्ष कमरेड म हजुरको जनयुद्ध देखि अहिले सम्मको आदेश पालक सिपाही हो । यसै ले दुईचार कुरामा हजुरलाई केही गुनासो राख्न गएको छु स्वीकारी दिनु होला ।

१. अध्यक्ष कमरेड हजुरले विभिन्न खाले ४० सुत्रिय माग राखि जनयुद्धको घोषणा गर्नु भयो यसमा मेरो परिवारको प्रत्यक्ष सहभागीता थियो र अहिले पनि हजुरको बाटोमा नै सम्पुर्ण परिवार हिडिँरहेको छ ।

२. अध्यक्ष कमरेड जब जनयुद्ध सुरु भयो परिवारको ३ भाइ र जेठी भाउजू युद्धमा होमियौँ र घरमा सम्पर्क कार्यालय भयो बुवा आमाले यहाँबाट सहयोग गर्नु भयो ।

३. अध्यक्ष कमरेड हजुरले नेपालमा दस वर्ष जनयुद्धको नेतृत्व कुशल तरिकाले नगरेको भए संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको कुनै सम्भावना नै थिएन अहिलेको शासन व्यवस्था जनयुद्धकै देन हो ।

४. अध्यक्ष कमरेड हामी हिजो देखि नै हजुरको आदेश मान्दै आएका सिपाही हौँ । तपाईको आदेश पालना गर्दा हजारौँ शहिद भए हजारौं अपांग भएका छन हजारौं बेपत्ता छन हजारौंको सिउँदो पुछियो हजारौंको काख रित्तियो हजारौं टुहुरा भए जनयुद्धको बेला यी आदि ईत्यादि सबै भए तर आज उनिहरु कहाँ छन कुन अबस्थामा छन के गर्दै छन यसको विषयमा हजुरलाई कुनै पनि चिन्ता चासो छ या छैन त्यो मैले भन्नू भन्दा पनि सम्पुर्ण नागरिकले देखि राखेका छन ।

५. अध्यक्ष कमरेड हुन त हजुरलाई अहिलेको अवस्थामा राष्ट्र नायक भन्दा पनि कुनै दुविधा छैन हजुरले गएको दुई दशकमा नेपाली राजनीतिको अब्बल खेलाडी हुनु भएको छ तर यी सबै उपलब्धि तपाईले गर्नु भएको छ हाम्रो साथ लिएर फाईदा भरि अरुलाई नै पुगेको छ । यसैले मेरो बिन्ती छ हजुरले शहिद परिवार, घाइते अपांग, बेपत्ता परिवार र पुराना कार्यकर्ता जो घरबार बिहिन छ उसलाई बिशेष प्याकेजको व्यवस्था लिएर उचित मागको संवोधन गरि दिनहुन अनुरोध छ ।

६ .अध्यक्ष कमरेड, तपाईले के के गर्नु भयो र हामिलाई भन्नू भयो म उतापट्टि जाँदिन तर हाम्रा मागको संबोधन हामी सरकारमा गएपछि हुन्छ भन्नू भयो सरकारमा गयौ भएन, म प्रधानमन्त्री भएपछि हुन्छ भन्नू भयो २ पटक प्रधानमन्त्री हुनु भयो माग सम्वोधन भएन अब कम्युनिस्ट एकता गरि दुई तिहाईको सरकार सहित हामी सत्ता प्राप्त गरेपछि सबैको समस्या सम्बोधन हुन्छ भन्नू भयो तर अहिले क. खड्क प्रसाद वलीले तपाई हाम्रा उपलब्धिलाई नै मानि राखेका छैनन के हाम्रा जनयुद्धको समस्या समाधान तर्फ लाग्लान चिन्ताको विषय बनेको छ ।

७. जसले जेसुकै भनेपनि अहिलेको उपलब्धिको धेरै भाग हिस्सेदार तपाई हामिलाई जान्छ हामी क्रान्तिबाट परिवर्तन गरेका हौँ तर हामी उपलब्धि गर्ने मान्छेहरु अहिले आएर कोहि क्रान्तिको बाँकि काम पूरा गर्ने भनि फेरि भुमिगत जीवन बिताँउदैछन, कोहि अरबको खाडिमा बेल्चा हानि रहेका छौ । कोहि, भारतमा मजदुरी गरि रहेका छौँ । कोहि स साना उधोग व्यापार गरि जिविका चलाउँदै छन त घाईते अपांगहरुको जीवन नर्कको लास सरि भएको छ । औषधी उपचार नपाएर कालको बाटो कुरि रहेका छन ।

यसैले, अध्यक्ष महोदय यो देशमा हजुरको अहिलेको अबस्थामा धेरै कुराको पहल कदमी छ । तपाईले चाहानु भयो भने भुमिगत साथिहरुलाई पनि मुुलधारमा ल्याउन सक्नु हुन्छ । शहिद परिवारका समस्या समाधान गर्न सक्नु हुन्छ । घाईते अपाङ्गको समस्या समाधान गर्नु हुन्छ । विदेशमा रहेका युवालाई स्वदेशमा रोजगारी दिन सक्नु हुन्छ, यसमा कुनै दुईमत छैन ।

अहिले आएर तपाईलाई प्रत्यक्ष जनताको समस्यामा भन्दा अर्को बाटोमा रनभुलमा पारिदिएका छन हजुरले समयमा त्यो रनभुलको बाटोबाट विजय हासिल गरि जनताको दैनिकी समस्याको समाधान तिर आएमा तपाईको छिट्टै यो भन्दा पनि धेरै माथिको उचाई हुने छ अन्यथा यहि रनभुलमा नै सबै उपलब्धि समाप्त हुने छ ।

अध्यक्ष कमरेड, आज म बिरामीको कारणले भएको सम्पुर्ण सम्पत्ति बेच्दा पनि उपचार नपाएर छटपटाएको छु । तत्कालीन अवस्थालाई हेर्दा क.जमिनलाई  हेरौँ उहाँ क्यान्सर रोगबाट कति खर्च भई निको नभएर अहिले दुनियाँ ठाउँमा हार गुहार गरि रहनु भएको छ । यी त देखिएका पात्र मात्र हो । यस्ता त आन्दोलनमा लागेकाहरु कति छन कति । कयौँ त सिटामोल खान नपाएरै ज्यान गयो कयौँ अझ अर्धचेत अवस्थामा छन कयौँको पुर्खेउली सम्पति नै सकियो । अहिले आएर मेरो पनि अवस्था उस्तै आउन लागेको छ । म, धेरै ठाउको उपचार पछि सबै ठाउँबाट रिफर गरिदिएर यहाँ काठमाडौको बासबारी न्युरो अस्पतालमा भर्ना भएको आज १५ दिन भयो मेरो आर्थिक अवस्था धेरै नै न्यून छ ।

पुर्खौली सम्पति बेचबिखन गरि आएको हो, त्यो पैसा आएको केही समयमा नै सकियो । साथीभाईहरुलाई हार गुहार गरि केही रकम जम्मा भएको थियो, त्यो रकमबाट यहाँ गर्न संभव छैन भनी दिए र यहाँ पठाई दिए ।

तैपनि कसैबाट केही हुन्छ कि भनि मैले वडा र गाउँपालिकाको सिफारिस लिएर आएको थिएँ । कसैले पनि केही गरि दिएन र भेट्न सम्मको समय मिलाउन सकेनन् ।
कति सम्म परिवर्तन भए छ है जनयुद्धको उपलब्धि ?

हिजो र आजमा आकाश पातालको फरक भएछ म तपाइको इमान्दार कार्यकर्ता हो । तपाइले जे गरे पनि अहिले सम्म साथ दिएको सदस्य हो ।

२०६२ साल देखि अहिले सम्म तपाईको नेतृत्वमा जति पार्टी बने उतिनै पार्टीको सदस्यता म सँग सुरक्षित छ तर आज सम्म त म माथि केहि बज्रपात परेको थिएन र मैले कसैको पनि ढोका धकधकाएको थिएन ।

तर आज, समस्या परेर सबैको ढोका ढकढकाउँदा कसैले पनि मेरो चित्कार सुनेन । त्यसैले म हजुरलाई यो पत्र लेख्न गएको हु ।

अध्यक्ष कमरेड हजुरले चाहानु भयो भने यो मेरो समस्या एक कल फोनमा पनि गर्न सक्नु हुन्छ तर गर्ने नगर्ने तपाईको हातमा छ । तपाइले तपाईको प्रतिनिधि मार्फत पनि गर्न सक्नु हुन्छ । यसैले अध्यक्ष कमरेड धेरै बोली बिस्तार लगाउनु भन्दा पनि मेरो र क. जमिनको समस्या मात्र यहाँ छैनन् यहाँ धेरैका स्वास्थ्य समस्या छन तपाईं अहिले राज्य शक्तिको पहुँचमा हुनुहुन्छ यी र यस्ता समस्या पटक पटक नदोहोर्याउनको निम्ति हामी यो व्यवस्था ल्याउन योगदान गर्ने मान्छेको लागि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरि उपचार प्रक्रियामा सहज ल्याईदिनको लागि विशेष आग्रह गर्दै कुनै पनि हामी जनयुद्धको सिपाहीहरु सिटामोल खानबाट वञ्चित हुने छैँनौ भन्दै मेरो उपचारको लागि विशेष पहल गरिदिन हुन अनुरोध गर्दै विदा हुन्छु ।

उहीँ तपाइको कार्यकर्ता, पुर्व जनमुक्ति सेना नेपाल

खुम बहादुर विश्वकर्मा, क.अग्रिम
पुर्व जनमुक्ति सेना नेपाल
हाल बाँसबारी न्युरो अस्पताल, काठमाण्डौ
नेपाल


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्