पत्रकारको निशुल्क पिसिआर परिक्षण व्यवस्था मिलाउन महासंघको सरकारसँग माग

काठमाडौं
नेपाल पत्रकार महासंघले पत्रकारको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
पछिल्लो समय पत्रकारको संक्रमित संख्या बढ्दै गएपछि नेपाली पत्रकारको छाता संगठन महासंघले उक्त माग गरेको हो ।
सोमबार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ती जारी गर्दै करिब ३६ जना पत्रकार कोरोनाबाट हालसम्म संक्रमित भइसकेको बताएका छन् । समाचार संकलनका क्रममा अग्र भागमा खटिने समाचारदाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु बढी कोरोनाबाट संक्रमित देखिएको महासंघले बताएको छ ।
कोरोना संक्रमण बृद्धि हुँदै गर्दा पनि पत्रकारले ज्यान जोखिममा राखेर अग्र भागमा खटेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकाले पत्रकारको निःशुल्क कोरोना परीक्षणको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।
त्यस्तै, कोरोना महामारीको यो बेलामा संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारसँग आग्रह गरेको छ । सञ्चार प्रतिष्ठानहरूले अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न पनि महासंघले आग्रह गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार, सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्