वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुने

काठमाडौं
सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमा आज पनि सुनुवाई हुने भएको छ ।
प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिँदै रिटलाई संवैधानिक इजलासमा पठाएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा बुधबार सुनुवाई हुँदाहुँदै समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गौतमले राष्ट्रियसभा सदस्यको सपथ भने लिइसकेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्