यी तीनमध्ये नेकपा महासचिव कसको पोल्टामा पर्ला ?

काठमाडौं । नेकपा दाहाल नेपाल समूहले केन्द्रीय कमिटी बैठकले नयाँ महासचिव चयन गर्ने तयारी गरेको छ । पूर्व एमाले समूहले महासचिव पाउने निश्चित भएपछि पूर्व एमालेबाट माधव नेपाल समूहका भीम रावल तथा सुरेन्द्र पाण्डे मध्ये एकजनालाई महासचिव चयन गर्ने तयारी गरेको हो ।
यता प्रचण्ड पक्षका जनार्दन शर्माले पनि रहर गरेपनि उनका लागि त्यति सहज नभएको नेताहरुले बताएका छन् ।
महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि उनको स्थानमा महासचिव छान्न लागिएको हो । पार्टी एकता कायम रहेको बताउदै आएका दाहाल नेपाल समूहले केन्द्रीय कमिटी बैठकबाटै महासचिव छान्ने र अन्य केन्द्रीय सदस्यहरु थप गर्ने भएको हो ।
औपचारिक रुपमा विभाजन भएको नेकपाका शीर्ष नेताहरुले आफ्नो पक्षमा नेता कार्यकर्तालाई ल्याउन भरमग्धुर प्रयास गर्न थालेपछि नेपाल पक्षले महासचिव चयनदेखि जिल्ला जिल्लाका नेताहरुको नाम संकलन थालेको छ ।
नेपाल पक्षले ओलीसँग रहेका केन्द्रीय सदस्यहरुको स्थानमा नेपाल पक्षीय नेताहरुलाई चयन गर्ने तयारी थालेको छ । त्यसअघि उपाध्यक्ष वामदेव गौतमसँग सुझाव लिइरहेका छन् । बुधबार रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, केशवलाल श्रेष्ठ, लक्ष्मण ज्ञवालीहरुले सल्लाह गरेका छन् ।
सर्वोच्च अदालतले न्यायिक निरुपण नगरेसम्म कतैपनि नखुल्ने बताइरहेका बेला उनी निकटका नेताहरुले भेटघाट गरी सुझाव लिएका छन् । तर गौतमले केन्द्रीय कमिटी सदस्यहरुको मनोनयनबारे केही सुझाव नदिएको स्रोतको बताएको छ ।
ओली पक्षले ५ सय ५६ जना केन्द्रीय सदस्यहरु थप गरेर महाधिवेशन आयोजक कमिटी बनाइसकेको छ । त्यस्तै दाहाल नेपाल समूहले भने ओली पक्षमा रहेका १ सय ४० केन्द्रीय सदस्य स्थानमा मनोनयनको तयारी गरेको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्