अनेरास्ववियूका सहसंयोजक रञ्जितले ऐन महरलाई संयोजकबाट हटाए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऐन महरलाई कारवाही गर्न अनेरास्ववियूकै सहसंयोजक रञ्जित तामाङ समूहले सिफारिस गरेको छ । मूल पार्टी नेकपा नै वैधानिकताको लडाइँमा जुटिरहँदा ओली पक्षका महर र प्रचण्ड-माधव समूहका तामाङबीच पनि वैधानिकताको लडाइँ सुरु भएको हो ।
तामाङले आज एक विज्ञप्ति जारी गर्दै सत्ताको भजनकीर्तन गरेको, संगठनको छवि बिगारेको, प्रतिगमनकारी बाटोमा उभिएको लगायतको आरोप लगाउँदै महरलाई कारवाहीका लागि सिफारिस गरेको जनाएका छन् ।
‘विडम्बना सडक बाघ सङ्गठनका रुपमा जनता र विद्यार्थीका आवाज घन्काउने अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल बनाउंदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भजनकीर्तन गर्ने काममा मात्र तल्लीन हुन थाले,’ सहसंयोजक तामाङले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उहांले संगठनको पारित विधान र प्रतिवेदनका बर्खिलापमा अनेक गुटपरस्त र फुट परस्त गतिविधि जारी राख्नुभयो। समाजमा व्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरीत उहाँ स्वयं तिनको बाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहे ।’
तामाङले विभिन्न प्रकरणहरुको उदाहरण दिँदै भष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्नेमा त्यसको साथ दिएको पनि आरोपपनि महरमथि लगाएका छन् ।
उनले भनेका छन्: संगठनको नीति, निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारवाही गरिएको र उक्त कारवाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
अर्कोतर्फ अखिलका संयोजक महर ओली समूहको नेकपाको केन्द्रीय कमिटी सदस्यसमेत भएका छन्। उनले संसद विघटनको पक्षमा उत्रन सबैलाई आव्हान गर्दै आएका छन् ।
महरले अनेरास्वियूको केन्द्रीय कमिटीको बैठक आज ११ बजे सम्राट पार्टी प्यालेसमा बोलाएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्