Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

फेरि प्रधानमन्त्री बन्छु भन्ठानेर जालझेल नगरियोस माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फेरि पनि प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल नगर्न चेतावनी दिनु भएको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगीत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न चेतावनी दिनु भएको हो ।

शनिबार अखिल फोर्सले काठमाडौमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो, ‘संविधानको संरक्षण भएको छ । संविधानको सही ब्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं ।’

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नुुभयो । उहाँले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताउनुभयो । ‘तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन । हामी विचारमा अडिग योद्धा हौं,’ उहाँले भन्नुभयो, ‘हामी अरूको कुरा, आलोचना पनि सुन्छौं । सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं ।’

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले भनाई थियो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्