Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

महिला भलिबल टिमलाई उपराष्ट्रपति पुनद्धारा सम्मान


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधी जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेका छन् ।

उनले मंगलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधी जित्ने राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक र खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरे । उनले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खादा लगाएर सम्मान गरे ।

खेलाडीहरुलाई सम्मान गर्दै पराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधी दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको बताए । उनले आगामी दिनमा भलिबलमा अझै ठूला अन्तर्राष्ट्रिय उपाधीहरु जित्ने अपेक्षासमेत व्यक्त गरे ।

उपराष्ट्रपतिले नेपालको सबै भूभागमा खेलिने भलिबल सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै भलिबलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताए । उनले आसन्न साग प्रतियोगितामा उपाधीका लागि राष्ट्रिय महिला भलिबल टिमलाई शुभकामनासमेत दिए ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधी दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्