नेपालद्वारा भुटान पराजित

काठमाडौँ –१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटान २० ओभर खेल्दै ६ विकेट गुमाएर मात्रै ९५ रनमा सीमित भयो । नेपालका पूर्वकप्तान पारस खड्काले २ तथा करन केसी, ललित राजवंशी र र पवन सर्राफले समान १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए । कमजोर मानिएको भुटानलाई उच्च लक्ष्य दिने क्रममा कप्तान मल्लले ९ छक्का र पाँच चौका प्रहार गरेका हुन् ।
ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शतक प्रहार गर्ने मल्ल नेपालका दोस्रा खेलाडी हुन् । यसअघि पारस खड्काले शतक प्रहार गरेका थिए । बिहीबारको खेलमा पारस खड्काले २८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।
नेपालले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालको ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाविरुद्ध गएको जुलाईमा १७३ रन बनाएको थियो । भुटानका कर्मा दोर्जीले दुई विकेट लिए।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्