ब्रिजवाटर कप फुटबल प्रतियोगिता–२०७६ हुने

काठमाडाैं – प्रथम पुरस्कार एक लाख राशिसहितको उपत्यकाकै पहिलो प्लस टु ‘ब्रिजवाटर कप फुटबल प्रतियोगिता–२०७६’ हुने भएको छ ।
फुटबल खेलाडी जन्माउँदै आएको मध्यपुर युथ एशोसिएनसँगको सहकार्यमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ४ सानोथिमिस्थित मध्यपुर युथ एशोसिएसनको खेल मैदानमा आइतबारदेखि शुरु हुने सो प्रतियोगितामा उपत्यकाका कक्षा १२ सम्म सञ्चालित ३२ विद्यालयको सहभागिता हुने ब्रिज वाटर इन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले आज जानकारी दिनुभयो ।
पुस १२ गतेसम्म नकआउटका आधारमा हुने प्रतियोगितामा विजेता विद्यालयलाई रु एक लाख र उपविजेताले रु ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रत्येक खेलमा एक जनालाई म्यान अफ दी म्याचबाट पुरस्कृत गरिने उक्त प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ ।
कलेजका प्राचार्य तेज श्रेष्ठले उपत्यकाव्यापी विद्यालयस्तरमा यति ठूलो राशिको पुरस्कार रहेको प्रतियोगिता पहिलोपटक ब्रिजवाटर इन्टरनेशनल कलेजले सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगिताबारे जानकारी दिँदै मध्यपुर युथ एशोसिएसनका अध्यक्ष, प्रतियोगिताका संयोजक एवं अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष उपेन्द्रमान सिंहले यो प्रतियोगिता अब हरेक वर्ष गरिने जानकारी दिनुभयो । प्रतियोगिताले नेपालका फुटबल क्लबलाई उत्कृष्ट खेलाडी छनोट गर्ने अवसर प्राप्त हुने बताउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न यसले ठूलो टेवा दिने बताए ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्