Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई


काठमाडौं – सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा एपीएफका लागि सरु लिम्बू र रेखा पौडेलले एक–एक गोल गरेकी थिइन् ।

खेलको छैटौँ मिनेटमा सरुले तथा ८९औँ मिनेटमा रेखाले गोल गरे । खेल अवधिभर एपीएफले बल आफ्नो नियन्त्रणमा लिएको थियो । उपाधिसँगै एपीएफले रु तीन लाख तथा ट्रफी प्राप्त ग¥यो । सो पुरस्कार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले वितरण गरे ।

एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भुटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ५० हजार प्राप्त ग¥यो । सो पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वितरण गरेका थिए ।

प्रतियोगितामा तृतीय भएका नेपाल पुलिस क्लब र भुटानका फुटबल टोलीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले प्रतिटोली रु ५० हजार वितरण गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खलाडीको पुरस्कार आर्मीकी दीपा राईले जिते। उनले यमाहा कम्पनीको एक थान स्कुटर प्राप्त गरे । राईलाई प्रधानसेनापति थापाले स्कुटरको साँचो हस्तान्तरण गरे । सो पुरस्कार एन्फाको समन्वयमा यमाहाले उपलब्ध गराएको हो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपीएफकी एन्जिला सुब्बा, उत्कृष्ट डिफेन्डर आर्मीकी पूजा रानामगर, उत्कृष्ट मिडफिल्डर भुटानकी पेमा छोदेन छिरिङ, उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफकै जनक सिंह भए । उनिहरुले जनही रु १० हजार पुरस्कार पाए ।

उनीहरुलाई नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया र अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार तथा ट्रफी वितरण गरे ।

सो अवसरमा सैनिक श्रीमती सङ्घकी अध्यक्ष दीपा थापाद्वारा घोषित उदीयमान खेलाडीको पुरस्कार आर्मीकी विमला विकले प्राप्त गरिन् । सो पुरस्कार सङ्घकी उपाध्यक्ष रीता गिरीले वितरण गरे ।

गत मङ्सिर २९ गतेदेखि उक्त प्रतियोगिता शुरु भएको हो । एन्फासँगको सहकार्यमा शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी भएका थिए ।

लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिता सेनाले २०७० सालदेखि आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्