‘ए’ डिभिजन लिग फुटबल : आर्मीसँग हार्यो शेर्पा

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोलले हरायो । आर्मीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
आर्मीको जितमा कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले गोल गरे । भरत म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै लिगमा आर्मीले तीन खेलबाट ६ अंक बनाएको छ ।
यसअघि आर्मीले पहिलो खेलमा फ्रेन्ड्सलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा भने आर्मी मनाङसँग १–० गोलले पराजित भएको थियो । शेर्पाले समान खेलबाट दुई अंक बनाएको छ । शेर्पाले यसअघि पुलिस र एपीएफसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्