प्रधानसेनापति थापाले गरे एनसीसी तालिमको कवाज निरीक्षण

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नवलपुर जिल्लाको हात्तिखोरस्थित राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयमा संचालित सि.सं.१५औं व्याच सिनियर डिभिजन (एनसीसी) तालिमको दीक्षान्त कवाजको निरीक्षण गरेका छन् ।
मंगलबार दीक्षान्त कवाजमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकता अभिबृद्धी गर्दै नैतिक र अनुशासित भावी नेतृत्व तयार गर्ने मूल उद्देश्य लिएर नेपाली सेनाले विगत लामो सयमदेखि एनसीसी तालिम संचालन गर्दै आएको बताए ।
उनले राष्ट्रिय युवा सशक्तिकरण कार्यक्रम अन्तरगत संचालित १०० दिनको तालिम सफलतापूर्वक सम्पन्न गर्ने सबै क्याडेट छात्रर/छात्राहरुलाई बधाई दिँदै देश विकासमा युवावर्गको सहभागिताको महत्त्व बुझेर आफ्ना छात्र/छात्राहरुलाई तालिमको लागी प्रेरित गराउने अभिभावक, शिक्षकवर्ग एवं शिक्षण संस्थाहरुमा आभार व्यक्त गरे ।
साथै, उनले क्याडेट छात्र/छात्राहरुले निःस्वार्थ सेवा भावले राष्ट्रप्रति समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा आफ्नो समाजमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् भन्नेमा विश्वस्त रहेको समेत बताए । समारोहमा उक्त सेवादलका क्याडेट छात्र/छात्राहरुले नृत्य तथा आफ्नो कला प्रस्तुती गरेका थिए ।
अनुशासित, कर्तव्य परायण एवं नेतृत्व क्षमता अभिवृद्धि गरी युवाहरुको समग्र व्यक्तित्व विकास गराउने उद्देश्य लिई वि.सं.२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलका गतिविधि तथा संचालित तालिमहरुको लोकप्रियता बढ्दै गएसँगै यसलाई ७७ वटै जिल्लामा विस्तार गरी सकिएको र हालसम्म एकाउन्न हजार तीनसय बत्तिस (५१,३३२) जना क्याडेट छात्ररछात्रा एनसीसी तालिमबाट दीक्षित भईसकेका सेनाले जनाएको छ ।
यस किसिमको तालिमबाट क्याडेट छात्ररछात्राहरुको मानसिक र वैचारिक परिपक्वता तथा नेतृत्व विकास गरी राष्ट्रपति समर्पित असल नागरिक निर्माण र व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्