सीमा अतिक्रमणमा भारतको पुरानै अडान,सीमा मिचिएको छैन

नयाँदिल्ली – भारतले सार्वजनिक गरिएको नयाँ नक्सामा नेपालको सीमा नमिचिएको दाबी दोहोर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र नेपालको भएको अभिव्यक्ति दिएको एक साता नबित्दै भारतका तर्फबाट विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले अडान दोहोर्याएका हुन् ।
‘नयाँ नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सम्बन्धमा भारतको भनाइ यथावत् छ,’ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । २ नोभेम्बरमा सार्वजनिक गरिएको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरेको विषयलाई लिएर नेपालमा विरोध सुरु भएपछि प्रतिक्रियास्वरूप भारतले औपचारिक टिप्पणी गर्दै नक्सामा भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरिएको र नेपालसँगको सीमामा परिवर्तन नगरिएको दाबी औपचारिक रूपमा गरेको थियो ।
काठमाडौंमा भारतसँग सीमासम्बन्धी विषयमा छलफल गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकका लागि औपचारिक पत्राचार सुरु भएको चर्चा भए पनि भारतले सीमा विवादका सम्बन्धमा छलफल गर्न नेपालका तर्फबाट औपचारिक पत्राचार नभएको समेत जनाएको छ ।
क्याटेगोरी : कुटनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्