Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेपाल प्रहरी जिम्मेवारीप्रति लगनशिल छ :आइजीपी खनाल


काठमाडौं – नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आज १४औं महानगरीय प्रहरी दिवस २०७६ सम्पन्न भएकोछ । समारोहमा प्रहरी महानिरीक्षक (आइजीपी)सर्वेन्द्र खनालले महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रही प्रहरी परिचालनतर्फ उत्कृष्ट कार्य गर्ने, समुदाय-प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनतर्फ उत्कृष्ट कार्य गर्ने, उत्कृष्ट अनुसन्धानकर्ता, प्राविधिक कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्राविधिक प्रहरी र ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट ठहर भएका प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरे ।

आइजीपी खनालले प्रहरी कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संघसंस्था एवम् सामाजिक अभियन्ताहरुलाई कदरपत्र प्रदान गर्नुका साथै १४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा आयोजित अन्तर विद्यालय चित्रकला प्रतियोगितामा उत्कृष्ठ हुने छात्ररछात्राहरुलाई नगद पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरे । साथै उनले नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्र बिवश भट्टलाई अमर प्रहरी सन्तती छात्रवृत्ति प्रदान गरे ।
समारोहलाई सम्बोधन गर्दै आइजीपी खनालले महानगरीय प्रहरी कार्यालयको आफ्नै विशिष्ट किसिमको जिम्मेवारी र महत्व रहेको चर्चा गर्दै प्राप्त अधिकार राम्रोसँग उपयोग गर्दै जानुपर्नेमा जोड दिए ।

प्रहरी कर्मचारीले पूर्ण व्यवसायिकताका साथ जिम्मेवारी वहन गर्दै कार्य सम्पादन गरेमा नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने उनले उल्लेख गरे । खनालले सवै प्रहरी कर्मचारीहरुले इमानदार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।

नेपाल प्रहरीले गर्नुपर्ने काम र जिम्मेवारीप्रति लगनशिल भई कार्य गरेमा कुनै पनि किसिमको घटना अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने उनले बताए । प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई समाजलाई भयरहित बनाउनु प्रहरीको महत्वपूर्ण कार्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यो कार्यलाई पुरा गर्न नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याएको बताए ।

स्थानीय तह तथा समाजका सबै वर्गहरुसँग सहकार्य गर्दै अगाडि बढ्न उक्त अवधारणा अन्तर्गत संचालन भएका विविध गतिविधिले नागरिक-प्रहरीवीचको साझेदारी थप मजबुत हुनुका साथै अपराधिक गतिविधि नियन्त्रण तथा समाजलाई भयरहित बनाउन समेत महत्वपूर्ण योगदान पुगेको उनले उल्लेख गरे ।

समारोहका विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उक्त अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न थप सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्