बम विष्फोटमा ज्यान गुमाएका प्रहरी निरीक्षक दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टी

काठमाडौं – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक भएको बम विस्फोटमा ज्यान गुमाएका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको अन्त्यष्टी गरिएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स-सम्मान अन्त्यष्टी गरिएको हो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्वर्गीय दाहालको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्वर्गीय दाहालका परिवारजन एवं आफन्तजनले समेत दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्वर्गीय दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिएका छन् ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ कुचियाही टोलमा गएराति शंकास्पद वस्तु विष्फोटन हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालकाे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
संखुवासभामा जन्मिएका दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ कृष्णनगरमा बस्दै आएका थिए । २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका दाहाल २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा पदोन्नति भएका थिए। सो विष्फोटबाट ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्