Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

काठमाडौंमा ९९ चिनियाँ नागरिक पक्राउ


काठमाडौँ – काठमाडौंको विभिन्न स्थानमा सर्च अप्रेसन गरी नेपाल प्रहरीले ९९ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडौं संयुक्त टोलीले पक्राउ गरेको हाे ।

भिसाको म्याद सकेपछि पनि नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले राजधानीका विभिन्न अपार्टमेन्ट तथा फ्ल्याटहरुमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार आईजीपी सर्वेन्द्र खनालकहाँ यससम्बन्धी सूचना आएपछि उनले सीआईबीलाई अनुुसन्धान गर्न निर्देशन दिएका थिए । खनालको निर्देशनसँगै सोमबार सीआईबीमा महानगरीय प्रहरी परिसर, अपराध महाशाखालगायतका प्रमुखहरुको बैठक बसेर सर्च अभियान तीव्र बनाउने निर्णय भएको थियो ।

लगत्तै बूढानीलकण्ठ, बाँसबारी, धुम्बाराहीलगायतका स्थानमा प्रहरीले छामा मारेर ९९ बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरु साइबरसम्बन्धी अपराधमा संलग्न रहेको पाइएको छ । विदेशमा समेत उनीहरुले काठमाडौँबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले यससम्बन्धी थप अनुसन्धान भइरहेको पनि जनाएको छ। प्रहरीले चिनियाँ नागरिकको साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिमलगायत बरामद गरेको बताइएको छ। उनीहरुलाई हाल काठमाडौं परिसर अन्तर्गतका विभिन्न वृत्तमा राखेर अनुसन्धान थालिएको छ।

पक्राउ परेका अधिकांश चिनियाँहरु पर्यटन भिसा लिएर नेपाल प्रवेश गरेको देखिएको छ। उनीहरु सबैको राहदानी जफत गरी थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्