सबै नागरिकप्रति सदा आदारभाव देखाउनुहोस्: प्रधानसेनापति थापा

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जाहरूलाई १० बुँदे निर्देशन दिएका छन् । प्रधानसेनापति थापाले दिएको निर्देशनको पहिलो बुँदामा सबभन्दा पहिला आफू सुरक्षित रहन भनेका छन् ।
संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबभन्दा पहिला आफूलाई सुरक्षित राख्न उनले निर्देशन दिएका हुन् । व्यक्तिगत सरसफाइमा ध्यान दिँदै आफूलाई डेढ मिटरको शारीरिक दूरी कायम राख्न भन्दै प्रधानसेनापति थापाले विसञ्चो भएमा घरमै अथवा व्यारेगमा बस्न भनेका छन् ।
आवश्यक परेमा स्वास्थ्य परीक्षण गर्ने र शारीरिक दूरी कायम गरी आइसोलेसनमा बस्न उनले सुझाएका छन् । आधिकारिक सूचनामा मात्र विश्वास राख्न सुझाव दिँदै थापाले आफ्ना सबै सहकर्मीप्रति सहयोगको भावना राख्न र यसबारेमा बुझाउन समेत भनेका छन् ।
‘सबै नागरिकप्रति सदा आदारभाव देखाउनुहोस् । आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने चिकित्सकहरूलाई उच्च सम्मान गर्नुहोस्,’ प्रधानसेनापति थापाले आफ्नो निर्देशनमा भनेका छन्, ‘नेपाल सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौती दुवै हो, बहादुरी होइन बुद्धि र विवेकको प्रयोग गर्नुहोस् । नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलि सदैव सर्वोच्च सेवाभाव देखाउनुहोस् ।’
संकटको यो घडीमा संयम र धैर्यता देखाउन आग्रह गर्दै थापाले कठिन समय केही समयका लागि मात्रै हो भन्ने ख्याल गर्न सुझाएका छन् ।
क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्