Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

सशस्त्र प्रहरीसँगै छाङ्गरु र तिङ्कर पुग्यो नेपाल प्रहरी


दार्चुला – सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन् ।

प्रहरीका प्रहरी नायब निरीक्षक हर्कसिंह महताको नेतृत्वमा नौ जनाको टोली तिङ्करको छियालेक र प्रहरी सहायक निरीक्षक देवदत्त भट्ट नेतृृत्वमा सीतापुलमा नौ जनाको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

व्यासको छाङ्गरुको सीतापुल र तिङ्करको छियालेकमा बस्दै आएका प्रहरी गत मङ्सिर महिनामा चिसो छल्न व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ झरेको थियो । दुवै चौकीका प्रहरी सम्बन्धित चौकीमा पुगेका छन् ।

व्यासको चीन ताक्लाकोट नजिकै रहेको छियालेक प्रहरी चौकी विसं २०२४ र छाङ्गरुको सीतापुल प्रहरी चौकी विसं २०२७ मा स्थापना भएका हुन् ।

अहिले दुवै प्रहरी चौकीका भवन जीर्ण अवस्थामा छन् । जीर्ण भवनमा त्रिपाल राखेर बास बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

सो गाउँपालिका वडा नं १ का दुई गाउँ छाङ्गरु र तिङ्करमा विगत लामो समयदेखि प्रहरीको मात्र छ महिना उपस्थिति हुँदै आएको छ । हालसम्म उनीहरुका लागि पक्की भवन निर्माण हुनसकेको छैन । भवन नहुँदा गत वर्षदेखि प्रहरीले त्रिपालको भरमा बस्तीको संरक्षणमा खटिएका थिए ।


क्याटेगोरी : सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्