Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

मगर सिनेमा निर्माण र प्रदर्शनको २५ वर्ष


मेजन पुन

सिनेमा समाजको दर्पण र मनोरञ्जनको माध्यम भन्छौं । तर विकसित समाज र विकसित मुलुकको लागि सिनेमा राजनीति पनि हो । आफ्नो देशको भेषभुषा, भाषा, संस्कारलाई जीवितता दिनको लागि उनीहरुले सिनेमालाई प्रत्यक्ष/अप्रत्यक्ष प्रयोग गर्दछन्ग/रिरहेका छन् । देश भित्र र देश बाहिरको समाज, रितिथिति, रहनसहन बुझ्न सिनेमाले महत्वपूर्ण भुमिका खेल्दछ/खेलिरहेको छ । २१ औं शताब्दीमा सूचना, सञ्चार लगायत सिनेमा क्षेत्र सञ्चारको महत्वपूर्ण माध्यम बनिरहेको छ ।

नेपालमा राज्यको नीति-बहुल हिताय नभएकै कारण राज्यको चलचित्र नीति पनि एकल संस्कृति, एकल भेषभुषा, एकल धर्म-संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने खालका बनेका थिए । एकल जातिको संस्कार र संस्कृति बाहेक अन्य जातिको रहनसहन, संस्कार/संस्कृतिमा सिनेमा बनाउन लगभग बन्देज सरह थियो । जब कि राज्य एकल कहिल्यै थिएन । राणा शासन र प्रजातन्त्रको त्यो युगदेखि लोकतन्त्रको यो युगसम्म पनि यो देशको भुमिपुत्र आदिवासी जनजातिहरुले सिनेमा क्षेत्रमा अझै खासै गौरवान्वित अनुभुत गर्न सकिरहेको अवस्था छैन् । र, सत्तामा रहेको शक्ति केन्द्रको भाषा, भेषभुषा विपरित सिनेमा निर्माण गर्ने आँट त्यो समयमा कसैले गर्न पनि सकेनन /गरेनन् पनि ।

यस्तो परिस्थितिमा आदिवासी जनजातिका विषयवस्तुमा मातृभाषी चलचित्र निर्माण गर्नु भनेको राज्यसत्ता सञ्चालकसँग त्यो समयमा सोझै जोरी खोज्नु पनि थियो । यसैको कारण प्रत्यक्ष रुपमा सिनेमा निर्माण गर्ने आँट कसैले गर्न चाहेनन् । यसर्थ आदिवासी जनजातिको विषयमा सिनेमा निर्माण कार्य धेरै ढिलो सुरु हुनुको मुख्य कारण राज्यको त्यही नीति महत्वपूर्ण थियो । साथै राज्यले राज्यको सौन्दर्य चेत—साहित्य र चलचित्रमा समेत आदिवासी जनजातिको प्रतिकुल वर्णन गरिदिएका पनि थिए । राज्यसत्ताले एकल भाषा, एकल संस्कृति अविलम्वन गरेकै कारण संस्कृति मन्त्रालय अन्तर्गत चलचित्र सेन्सर प्रक्रिया पनि आदिवासीका संस्कृति विपरित बनाईएका थिए । जस अनुसार चलचित्र विकास बोर्डमा नियुक्ति हुने व्यक्तिहरुले समेत बिशेष ध्यान दिई कामकार्यवाही गर्नु पर्दथ्यो । यसर्थ राज्यको नीति, सौन्दर्य चेत, बहुल भाषा र संस्कृतिका सिनेमा निर्माण गर्नु भनेको सत्ताको विरुद्ध उभिएको ठहर सहित व्यक्ति अड्डा अदालत धाउनु पर्ने अवस्था र सम्भावनाहरु थिए । डर, त्रास थियो । सत्ताको विपक्षमा रहेर लगानी गर्ने अवस्था पनि थिएन ।

सिनेमा काल्पनिक कथा हो तर अधिकांश सिनेमा समाजकै घटना र पात्रबाट टिपेर बनाइन्छ । त्यसरी समाजका घटना उतार्दा सांचो चित्रण होस् र कुनै वर्ग, क्षेत्र र समुदायलाई लाञ्छित नगरियोस् भनेर सचेत हुनु कलाकर्मीको दायित्व पनि हो । आफ्नो राम्रो बनाउने क्रममा यथार्थ भन्दा टाढा रहेर अन्य जातिको रहनसहन र विषयवस्तुलाई विकृत बनाउनु पनि हुँदैन । मौलिक कथा र यथार्थ जीवनीसँग नजिक रहेर बनाइएको सिनेमाहरुको मुल्यांकन समाजमा उच्च रहन्छ । र, चलचित्रकर्ममा लागेका व्यक्तिहरुले सिनेमा व्यापार भईकन पनि सिनेमा यथार्थको धरातलमा रहेर निर्माण गर्ने प्रयास गर्नु पर्दछ ।

निर्देशक नविन सुब्बा भन्नुहुन्छ—आदिवासी जनजातिको सिनेमा निर्माण गर्न व्यक्ति आदिवासी भएर मात्र पुग्दैन, सोंच र दृष्टि पनि आदिवासीको हुनुपर्छ । यसर्थ वहाँको भनाईलाई नै सापटी लिएर भन्नु पर्दा मगर सिनेमा निर्माण गर्दा व्यक्ति मगर भएर मात्र हुँदैन रहेछ, सोंच र दृष्टि पनि मगरकै राख्नुपर्दो रहेछ । सिनेमा मगरको भन्ने तर यो समाज भित्रको सुवास र सुगन्धले मगर समाजको वासना र समाजको प्रतिनिधित्व गर्दैन भने त्यो मगर सिनेमा हुँदैन किनकि यसप्रकारको सिनेमाहरुको प्रदर्शनले मगर समाजको पहिचान गराउनु भन्दा समाजलाई विकृत नै चित्रण गर्दछ । जेहोस् यो लेखले विचारमा अस्पष्ट मगर चलचित्र क्षेत्रलाई स्पष्ट बनाउने सानो गोरेटो बाटो मात्र भए पनि कोर्ने छ ।

मगर चलचित्र
मगर सिनेमाको इतिहास त्यति लामो छैन् । हुन त मुलधारका भनिने खस नेपाली भाषाको सिनेमाको विकास पनि त्यति लामो होइन । सत्य हरिश्चन्द्रलाई नै लिने हो भने पनि ६ दशक वरपर मात्र भएको छ । तर सामाजिक तथा साँस्कृतिक संरचना अनुरुप समाजको गतिविधि प्रदर्शन गर्ने साँस्कृतिक कलाकार भने अन्य आदिवासी जनजातिमा सरह मगर समाजमा पनि उहिल्यैदेखि थिए र छन् ।

आफ्नो संस्कृति, परम्परा र भाषाहरूको संरक्षण र संवद्र्धनमा सिनेमाले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जबसम्म कुनै जातिको भाषा, साहित्य, संस्कृतिको खोज, अनुसन्धान गर्दै प्रबद्र्धन र प्रचार गर्न सकिन्न तबसम्म ती जातिको अस्तित्व पहिचान हुन सक्दैन । यसर्थ पनि संचारको क्षेत्रमा सिनेमाको बेग्लै महत्व रहेको छ । तर नेपालमा एकल जाति, एकल धर्म, एकल संस्कृति हावी भएर निर्माण गरिएका सिनेमाहरु छन् । एकल जाति, एकल धर्म, एकल संस्कृति भएका व्यक्तिहरुकै संलग्नता रहेको कारण बहुल संस्कृति/संस्कार/परम्परा र धेरै जातजातिको विषयमा मौलिक नेपाली सिनेमाहरु निर्माण भएका छैनन् ।

आदिवासी जनजाति समाजभित्र २०४४ सालमा नेपाल भाषाको सिनेमा शिलु, थारु भाषामा करम र लिम्बु जातिबाट तरेवा टेलिचलचित्र/सिनेमा निर्माण गरेर प्रसारण/प्रदर्शन भए पश्चात मगर भाषामा नाटक मञ्चन गर्न तयारी अवस्थामा रहेका युवराज मास्की राना मगर, तरेवामा संलग्न भएका राज थापा काउचा मगर र संजोग लाफा मगर भित्र पनि आफ्नो समाजको विषयमा टेलिचलचित्र बनाउने तरङ उत्पन्न भयो । र, उत्पन्न भएको त्यो तरङ स्वरुप २०५१ सालमा बाह्र मगरात मगर भाषा (ढुट) मा लङ्घन सिनेमा निर्माण र प्रदर्शन गरि मगर चलचित्रको इतिहासको सुरूवात भयो । जसलाई हिमालयन कल्चर मुभिजको ब्यानरमा डि.बी.पुलामी मगरले लगानी गर्नु भएको थियो । पहिलो मगर सिनेमामा नायक राज थापा काउचा मगर र नायिका तारा (टुगा) थापा मगरले अभिनय गरेका थिए । यसको सुटिङ तनहुँको रुम्सी, दमौली र काठमाडौंमा गरिएको थियो । लङ्घन-नेपाल टेलिभिजनको केन्द्रीय र क्षेत्रीय प्रसारणमा समेत प्रसारण भयो । यसबाट लगानी नउठ्ने भए पछि यसको भी.एच.एस. क्यासेट निकालेर देश तथा विदेशमा विक्री वितरण पनि गरिएको थियो ।

आधुनिक नेपाली साहित्य तथा कलाकारिताको विकास साहित्य, गीत, कथा, नाटकबाट नै सुरु भएको पाउँछौं । मगर समाजमा मास्टर मित्रसेन जस्ता संगीतकर्मी जन्मेका छन् । मगर साहित्यमा आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर सारु मगरले विगतमा मगर भाषामा कलम चलाएका थिए । प्रजातन्त्रको आगमन पश्चात नेवाः भाषामा सिनेमा बनिसकेको अवस्थामा मगर भाषामा सिनेमा निर्माण गर्न पहल गर्नु नै ठूलो कुरा हो । नेपाली समाजमा अनादिकालदेखि मौलिक भाषा, संस्कृति, रितिरिवाज, परम्पराका धनी मगर जातिको लेख्य इतिहास विकसित नभएको अवस्था र अझ कलाको अत्याधुनिक सिनेमा विद्यामा मगर समाज अझ पछाडि रहेको हुँदा खोज–तलास गरि आफ्नो भाषा, संस्कृति, धर्म र रीतिरिवाजको संरक्षण, सम्वद्र्धन एवम् जगेर्ना तथा समयानुकुल परिमार्जन र विकास गर्न उत्कृष्ट मगर साहित्यको रचनाबाट मौलिक मगर सिनेमाहरु निर्माण गरिनु पर्दछ । मगर साहित्यको विकासले नै मौलिक मगर सिनेमाहरु निर्माण हुन्छ ।

मगर सिनेमा क्षेत्रमा व्यक्तिगत रुपमा संलग्न भई काम गरिरहेको अवस्थामा संगठनको आवश्यकता महसुस गरि मगर सिनेमामा संलग्न सक्रिय व्यक्तिहरुको पहलमा २०६५ सालमा मगर सिनेमाको एउटा आधिकारिक संस्था निर्माण गरि मगर सिनेमा क्षेत्रमा संस्थागत रुपमा एक भएर अगाडि बढ्ने उद्देश्य लिएर मगर चलचित्रकर्मी संघ गठन गर्न पहल भए अनुरुप मगर सिनेमाका प्रथम निर्देशक युवराज मास्की राना मगरको अध्यक्षतामा उपाध्यक्ष : सञ्जोग लाफा मगर, महासचिव : मेकबहादुर पुन (मेजन), सचिव : प्रतिमाया पुन, कोषाध्यक्ष : बलिसरा थापा मगर र सदस्यहरुमा शंकर गाहा मगर, विवेश बुढा मगर, सानुमैयाँ राना मगर, सन्तोष पिठाकोटे मगर, मौसम पाईजा पुन मगर र जेबी घले मगर रहेको ११ सदस्यीय एक तदर्थ समिति निर्माण भयो । जुन संस्थाले २०६६ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता नं. १०४ र समाज कल्याण परिषद दर्ता नं. ३७०२३ प्राप्त गर्दै मगर सिनेमा क्षेत्रमा संस्थागत काम गर्न आधिकारिकता प्राप्त गर्यो ।

मगर सिनेमा र मगर सम्बन्धी डकुमन्ट्रीहरु पनि निर्माण भएका छन् । मगरहरुको पहिलो डकुमेन्ट्री गन्तव्य महभीरलाई मेजन पुन मगर र डबबहादुर गर्बुजा पुन मगरले निर्माण गरि डकुमेन्ट्री क्षेत्रमा पनि सम्भावनाहरु रहेको जानकार गराउन सफल भएका छन् । यो डकुमेन्ट्री काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेष्टिबल २००४ मा समेत छनोट भई प्रदर्शन भएको छ । यसर्थ यो मगर समाजको पहिलो डकुमेन्ट्री बन्न सफल भयो जो अन्तर्राष्ट्रिय फिल्म महोसत्वमा समेत छनोट भई प्रदर्शन भएको छ । अहिलेसम्म मगरको ४२ वटा चलचित्र, १७ वटा वृत्तचित्र र ६ वटा छोटो चलचित्र निर्माण भईसकेको छ ।


क्याटेगोरी : कला र मनोरञ्जन, विचार

तपाईको कमेन्ट लेख्नुहोस्