Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

सीमा विवाद : कूटनीतिज्ञबीच जुहारी


काठमाडौं – विदेशी पूर्वराजदूतहरू नेपालबारे कूटनीतिक मर्यादाविपरीत बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिन थालेका छन्। नेपालका लागि राजदूत हुँदै भारतीय विदेशसचिवबाट सेवानिवृत्त श्याम शरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणीसहित आलेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरेका छन्।

पूर्वराजदूत शरणले नेपाली पक्ष राजनीतिक खपतका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डिएन एक्सप्रेस’मा आलेखमार्फत लगाएका थिए। उनको आलेखलाई राष्ट्रसंघको स्थायी प्रतिनिधिसमेत भएका आचार्यले रिट्विट गर्दै खण्डन गरेका हुन्। आचार्यले शरणको उक्त अभिव्यक्ति झुटो रहेको बताएका छन्।

शरणको लेखमा सन् १९५० को सन्धि र कालापानीलगायत विषयलाई द्विपक्षीय वार्ताबाट नेपालले हटाएको उल्लेख छ। आचार्यले भने शरणले नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००३ को भारत भ्रमणका क्रममा कालापानीसहितका केही विषय हटाउन लगाएको स्पष्ट पारेका छन्। १९५० को सन्धिलाई संयुक्त वक्तव्यबाट हटाउन शक्तिशाली नेतृत्वमार्फत लबिङ गरेको भन्दै उनले शरणको धारणाप्रति कटाक्ष गरेका छन्। आचार्य त्यति बेला परराष्ट्रसचिवका हैसियतमा देउवासँग भारत भ्रमणमा थिए।

भारतीय नेताले बेला–बेला यस्ता धारणा दिँदै आएका छन्। कर्मचारी स्तरबाट पनि यस्ता अभिव्यक्ति आउन थालेपछि नेपालका पूर्वकूटनीतिज्ञले ध्यानाकर्षण गरेका हुन्। एक कूटनीतिज्ञका अनुसार नेपालमा आउने राजदूतलाई राजनीतिक नेतृत्वले बढी महत्व दिँदा परराष्ट्रका समकक्षीलाई बेवास्ता गर्छन्। पछिल्लो समय भने भारतीय राजदूतले यस्तो ‘बडप्पन’ देखाएका छैनन्। ‘संविधान जारी हुनुअघि ठूलो रवैया देखाउँथे’, ती कूटनीतिज्ञले भने, ‘त्यो धङधङी अझै केही पूर्वकर्मचारीमा छ।’ यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।


क्याटेगोरी : पत्रपत्रिका

तपाईको कमेन्ट लेख्नुहोस्