गुप्तचरी विधेयक संसदमा, प्रतिपक्षले प्रस्तुत गरे विरोधको सूचना

काठमाडौं – सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएको बताए ।
अर्थमन्त्री डा खतिवडाले विधेयक सदनमा प्रस्तुत गर्नुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्तले विरोधको सूचना पेश गरेका थिए, जसलाई वहुमतले अस्वीकृत ग¥यो । विरोधको सूचना प्रस्तुत गर्दै पन्तले नागरिकको स्वतन्त्रता हनन गर्ने, गोपनियताको हक भंग गर्ने भन्दै यो विधेयकलाई ‘ज्यानमारा’ को संज्ञा दिए । फरक विचार र फरक दललाई ठाउँको ठाउँ समाप्त पार्ने नियतले विधेयक ल्याइएको भन्दै कांग्रेस सांसद पन्तले यो विधेयक फरक विचार राख्ने सत्तारुढ दलका नेताहरुका लागि पनि खतरापूर्ण भएको धारणा राखे ।
‘यो लोकतन्त्रविरुद्धको जासुसी हो । विधेयकका केही बुँदाले कुनै पनि व्यक्तिको निजी जीवनमा राज्यको सिधै हस्तक्षेप हुने देखिन्छ,’ सांसद पन्तले भने, ‘श्रीमान श्रीमतीबीच भएको सबै कुराहरु सरकारले हेर्नेछ, सुन्ने छ । ट्यापिङ गर्ने छ । विदेशमा भएका सबै नेपालीहरु अब घरपरिवारसँग खुलेर कुरा गर्न पाउने छैनन् ।
बिहे गर्ने उमेर भएका भाइबहिनीहरु प्रेम गर्नुभएको छ भने तपाईंहरुको सबै खवर, सबै म्यासेजहरु सरकारले सुन्ने छ, हेर्ने छ ।’ जोसुकैमाथि पनि यो ब्याकमेलिङ हुने अवस्था रहेको उनले बताए । पत्रकारले कुनै खोजमुलक समाचार लेख्यो भने सम्पादकसँग पुग्नुभन्दा पहिले सरकारको संयन्त्रमा पुग्ने भएकाले यसको विरोध गर्नुपरेको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
तपाईको कमेन्ट लेख्नुहोस्